काँग्रेसमा चुनाव हारेकालाई पनि जिम्मेवारी दिइने, पदका आधारमा विभेद अन्त्य गर्ने थापाको दाबी

Janta Khabar Media House ९ कात्तिक २०८३

काँग्रेसमा चुनाव हारेकालाई पनि जिम्मेवारी दिइने, पदका आधारमा विभेद अन्त्य गर्ने थापाको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक निर्वाचनमा पराजित भएका तथा विभिन्न तहमा जिम्मेवारी पाउन नसकेका नेता-कार्यकर्तालाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिने बताएका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई जित र हारका रूपमा मात्र नहेरी सबैलाई समेटेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन्।

काँग्रेस चार पुस्ताको साझा पार्टी भएको उल्लेख गर्दै उनले केन्द्रीय समितिदेखि वडा, क्षेत्र, जिल्ला र प्रदेश तहसम्म जिम्मेवारी प्राप्त गर्न नसकेका नेता–कार्यकर्तालाई पनि विधानअनुसार उपयुक्त भूमिका प्रदान गरिने बताए।

‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा एक जनाले जित्ने र अर्कोले हार्ने भन्ने हुँदैन। हामी सबै समान हैसियत राख्छौँ,’ थापाले भने, ‘मैले अहिले प्राप्त गरेको कुरा जिम्मेवारी मात्र हो, यो स्थायी पद होइन।’

उनले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गरेकै कारण कुनै पनि नेता वा कार्यकर्तालाई लामो समयसम्म भूमिकाविहीन राख्ने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए। काम गर्ने इच्छा, क्षमता र योग्यता भएका व्यक्तिलाई सङ्गठनका विभिन्न तहमा सक्रिय बनाइने उनको भनाइ थियो।

थापाले पार्टीभित्र पद र जिम्मेवारीका आधारमा ठूलो-सानो ठान्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने पनि बताए। विशेष गरी आसन ग्रहण, मर्यादाक्रम र प्राथमिकताका विषयमा हुने विभेदपूर्ण व्यवहार सुधार्नुपर्ने उनको धारणा थियो।

पार्टीका आगामी अधिवेशन र आन्तरिक संरचनाका विषयमा अनावश्यक चिन्ता नगरी जनतासँगको सम्बन्ध विस्तारमा केन्द्रित हुन उनले नेता-कार्यकर्तालाई आग्रह गरे। नयाँ नेतृत्वले नयाँ सोच र प्रतिबद्धतासहित सङ्गठनलाई जनतामुखी बनाउनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

0

छुटाउनुभयो कि? सबै